दसैँका लागि बजारमा थपियो ६३ अर्ब रुपैयाँ, नगद प्रवाहमा वृद्धि
नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप मुद्रा प्रवाह भएको छ।
राष्ट्र बैंकका अनुसार गत भदौसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेको थियो। बुधबारसम्म आइपुग्दा उक्त रकम बढेर ८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ।
दसैँलगायतका चाडपर्वमा किनमेल, यात्रा, दक्षिणा तथा अन्य खर्च बढ्ने भएकाले नगदको माग थप बढ्न सक्ने राष्ट्र बैंकका अधिकारीहरूको अनुमान छ। डिजिटल भुक्तानीको प्रयोग विस्तार हुँदै गए पनि चाडपर्वका बेला नगदप्रतिको निर्भरता कायमै रहेको देखिन्छ।
यसैबीच, दसैँलाई लक्षित गरी सर्वसाधारणले नेपाल राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकमार्फत करिब १३ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सफा नोट साटेका छन्।
राष्ट्र बैंकका अनुसार थापाथलीस्थित केन्द्रीय कार्यालय तथा विभिन्न प्रादेशिक कार्यालयमार्फत करिब ३ अर्ब रुपैयाँ बराबरका नोट साटिएको छ। त्यस्तै, सर्वसाधारणलाई नोट सटही सुविधा उपलब्ध गराउन वाणिज्य बैंकहरूले राष्ट्र बैंकबाट करिब १० अर्ब रुपैयाँ बराबरका नोट लगेका छन्।
राष्ट्र बैंकले असोज १ गतेदेखि ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही सुविधा उपलब्ध गराउन सुरु गरेको थियो।
चाडपर्वका बेला नयाँ तथा सफा नोटको माग बढ्ने भएकाले राष्ट्र बैंकले सर्वसाधारणलाई सहज रूपमा नोट साट्ने व्यवस्था मिलाएको जनाएको छ। नगदको माग बढेसँगै बजारमा मुद्रा प्रवाह पनि थप विस्तार हुने अनुमान गरिएको छ।