जनकल्याण माविको हीरक महोत्सवलाई भव्य बनाउन सञ्चालन समितिको तयारी तीव्र
लमजुङकै शैक्षिक इतिहास र गौरवमय विरासत बोकेको बेसीसहर नगरपालिका वडा नम्बर १, उदिपुरमा अवस्थित श्री जनकल्याण माध्यमिक विद्यालयको हीरक महोत्सवलाई ऐतिहासिक रूपमा सफल बनाउन हीरक महोत्सव सञ्चालन समितिको एक महत्त्वपूर्ण बैठक आज सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालय स्थापना भएको ७५ वर्ष पूरा भएको यस ऐतिहासिक अवसरमा आयोजना हुन लागेको महोत्सवलाई व्यवस्थित, भव्य र सभ्य बनाउने उद्देश्यका साथ सञ्चालन समिति, विद्यालय प्रशासन र स्थानीय सरोकारवालाहरूको संयुक्त टोलीले गृहकार्यलाई तीव्रता दिएको हो। उदिपुरको मुख्य शैक्षिक धरोहरका रूपमा रहेको यस विद्यालयको हीरक महोत्सवलाई उत्सवका रूपमा मनाउन टोल-टोलमा सांगठनिक सरगर्मी बढेको छ।
आज आयोजित सञ्चालन समितिको विशेष बैठकले महोत्सवलाई सफल पार्नका लागि विभिन्न रणनीतिक निर्णयहरू गरेको छ। बैठकमा विशेष गरी देश तथा विदेशमा रहेका आम नागरिकहरूसम्म महोत्सवको सन्देश पुर्याउन प्रचारप्रसारलाई व्यापक र आधुनिक प्रविधिमैत्री बनाउने, सांस्कृतिक तथा औपचारिक सत्रका लागि महेत्सवको सम्पुर्ण व्यवस्थापनलाई नमुनामैत्री बनाउने र पूर्व विद्यार्थीहरूको वृहत् सञ्जाललाई परिचालन गर्ने विषयमा छलफल गरिएका छन्। यसैगरी विद्यालयको ७५ वर्षको इतिहासमा यहाँ पढेर हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठुला-ठुला ओहोदामा पुग्नुभएका सम्पूर्ण पूर्व विद्यार्थीहरू, निवर्तमान शिक्षक शिक्षिकाहरू, वर्तमान अभिभावकहरू र विद्यालयप्रति प्रत्यक्ष आस्था राख्ने सम्पूर्ण समुदायलाई कसरी यस हीरक महोत्सवको मूल प्रवाहमा जोड्ने भन्ने यावत विषयमा सञ्चालन टिमबीच व्यापक र घनीभूत छलफल भएको छ।
बैठकमा बेसीसहर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीको विशेष उपस्थिति रहेको थियो भने उहाँले वडा कार्यालयका तर्फबाट यस ऐतिहासिक धरोहरको महोत्सव सफल पार्न नीतिगत र आर्थिक रूपमा पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर अधिकारीको निरन्तरको सक्रियता, कुशल व्यवस्थापकीय मेहेनत र भिजनकै कारण उदिपुरबासीले यो ठुलो उत्सव मनाउने अवसर पाएकोमा सबै हौसलामय र महोत्सवमा प्रतिवद्द देखिनुभएको थियो। प्रधानाध्यापक अधिकारीलाई सफल बनाउन र महोत्सवको कमान्ड सम्हाल्न स्थानीय अगुवा अभिभावक तथा दिग्गज व्यक्त्तित्वहरु बलाराम श्रेष्ठ, रमेश बोहरा, ध्रुव जोशी, रामकुमार श्रेष्ठ लगायतका स्थानीय बौद्धिक व्यक्तित्वहरू तथा सम्पूर्ण सञ्चालन टोली अहोरात्र मैदानमा खटिन तयारी हालतमा देखिएको छ।
बेसिसहर नगरपालिका- १ उदिपुरको आस्था र पहिचानको मुख्य केन्द्र मानिने जनकल्याण माविको ७५औँ स्थापना दिवस केवल एउटा विद्यालयको कार्यक्रम मात्र नभई सिंगो लमजुङ जिल्लाकै ऐतिहासिक गौरवको विषय भएकाले यसलाई व्यापक रूपमा सफल बनाउन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय पूर्व विद्यार्थी वर्गहरू, शिक्षाप्रेमी महानुभावहरू, बुद्धिजीवीहरू र सम्पूर्ण शुभचिन्तकहरूलाई आ-आफ्नो तर्फबाट भौतिक, आर्थिक र नैतिक रूपमा एकजुट भई जुट्नका लागि सञ्चालन समितिले हार्दिक अपिल गरेको छ। आजको बैठकले तय गरेको कार्यतालिका अनुसार आगामी दिनमा तीव्र रूपमा भौतिक पूर्वाधार सुधार र आन्तरिक व्यवस्थापनका कार्यहरू अगाडि बढाइनेछ।