गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे र बुटवलको खैरेनीमा बस्दै आएका कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो।
त्यस्तै, निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।
गम्भीर घाइते छविलाललाई मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल रेफर गरिएको छ। गोमताको मिसन अस्पताल, पाल्पामा र बालकृष्णको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरी र स्थानीयवासीको टोलीले घटनास्थलबाट मृतक तथा घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।