झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौ जना पक्राउ
प्रहरीले झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएका छन्।
उनका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित ओम शान्ति भवननजिक प्रदेश १–०२–००५ ह ६४८० नम्बरको सिटी रिक्सा जाँच गर्ने क्रममा तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ का १८ वर्षीय अब्दुल खान, १८ वर्षीय मोतिम आलम र सोही स्थानका १८ वर्षीय सोजिप खान रहेका छन्। सोजिप को ३६ प ६२४३ नम्बरको मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ।
उनीहरूबाट ट्रामाडोल ६ हजार ९८० क्याप्सुल, स्पास्मो ७ हजार क्याप्सुल र हाइड्रोब्रोमाइन दुई बोतल बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का २७ वर्षीय कुशल घिमिरे, ३२ वर्षीय तुलसी खड्का र इटहरी उपमहानगरपालिका–९ का ३२ वर्षीय मुकेश भुजेललाई ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका–५ का ४० वर्षीय रामकुमार चौधरीलाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैगरी, उदयपुरको इलाका प्रहरी कार्यालय बेलटारले त्रियुगा नगरपालिका–१० का २६ वर्षीय मनोज मग्रान्तीलाई स्पास्मो २८८ क्याप्सुल र निट्राजेपाम ३०० ट्याब्लेटसहित पक्राउ गरेको छ।
झापाको इलाका प्रहरी कार्यालय अनारमनीले ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का २५ वर्षीय बविस भण्डारीलाई ३ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन्।