पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता
पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन्।
भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर स्वदेश फर्किएकी हुन्। उनी गत बिहीबार सम्मेलनमा सहभागी हुन चीन गएकी थिइन्।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने मूल विषयवस्तुमा आयोजित उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म सञ्चालन भएको थियो। सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा शनिबार सम्बोधन गरेकी थिइन्।
सम्बोधनका क्रममा उनले जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा आफ्नो धारणा राखेकी थिइन्।
नेपालमा हालै भएका प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेको उल्लेख गर्दै भण्डारीले नेपालको जलवायु न्यायसम्बन्धी मागलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी थिइन्।
उनले विश्वव्यापी शासन र जलवायु न्यायबीच प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै हिमालय क्षेत्रलाई क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदाका रूपमा व्याख्या गरेकी थिइन्।
हिमाली क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशबीच सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिएकी थिइन्। यसका लागि मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदीको अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
त्यस्तै, भण्डारीले अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिभन्दा अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी थिइन्। सबै राष्ट्रको आवाजको सम्मान गर्दै कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारलाई उचित स्थान दिनुपर्ने उनको भनाइ थियो।
समकालीन विश्वको विविधता र आकाङ्क्षालाई प्रतिबिम्बित गर्ने प्रभावकारी संस्थाका रूपमा संयुक्त राष्ट्रसङ्घलाई सुदृढ बनाउनुपर्नेमा समेत उनले जोड दिएकी थिइन्।