एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो दिन सोमबार एक खेल मात्र भएकोमा दोस्रो दिन दुई खेल हुन लागेका हुन्।
मंगलबार बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। चारै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिनेछन्।
बिहानको खेलमा विराटनगर किङ्ग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् भने चितवन राइनोजको कप्तानी कुशल मल्लले सम्हाल्नेछन्। विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायत खेलाडी छन्। विदेशी खेलाडीमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, इमरान शेख, प्रतिक श्रेष्ठ र शुभम रन्जाने रहेका छन्।
त्यस्तै, चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली र उसामा मीरलगायत खेलाडी छन्।
मंगलबार साँझ हुने खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। जनकपुरको कप्तानी हर्मित सिंहले गर्नेछन्। टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दास, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमदलगायत खेलाडी छन्।
यस्तै, कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन्। टोलीमा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दीपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुनलगायत खेलाडी समावेश छन्।
एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मङ्सिर १ गते अंकतालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ। मङ्सिर २ गते तेस्रो र चौथो स्थानका टोलीले इलिमिनेटर खेल्नेछन्।
मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते तय गरिएको छ।