चार सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा
चालु आर्थिक वर्ष सुरु भएयता चार सचिवसहित ४६४ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार साउन १ गतेदेखि हालसम्म राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी उक्त संख्यामा कर्मचारीले पद छाडेका हुन्।
किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्।
राजपत्राङ्किततर्फ चार सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृतले राजीनामा दिएका छन्। त्यस्तै, राजपत्र अनङ्किततर्फ १३७ जना खरदार तथा नायब सुब्बा र १२० जना श्रेणीविहीन कर्मचारीले पद छाडेका छन्।
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा विधेयक कार्यान्वयनमा आउँदा पहिलोपटक ३० वर्ष सेवा अवधि पुगेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीले राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरेपछि कर्मचारीले राजीनामा दिने क्रम बढेको बताइएको छ।
यद्यपि, राजीनामा पत्रमा कर्मचारीहरूले घरायसी कारण उल्लेख गरेको किताबखानाले जनाएको छ। किताबखानाका अनुसार राजीनामा दिएका सबै कर्मचारीको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।