सुडानमा ड्रोन आक्रमण : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते
सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्याला सहरको एक बजारमा ड्रोन आक्रमण हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।
एएफपीका अनुसार सोमबार राति करिब ८ बजे अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको उत्तरी भागस्थित बजारलाई लक्षित गरी आक्रमण गरिएको थियो।
न्याला अस्पतालका एक चिकित्सकले आक्रमणमा २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन्। मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका लडाकु थिए भन्ने स्पष्ट हुन नसकेको उनले बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार उक्त बजारमा युवाहरूका साथै आरएसएफका लडाकुहरू पनि आउने गरेका थिए।
सुडानी सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि युद्ध जारी छ। सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ भने आरएसएफले यस सहरलाई आफ्नो प्रमुख आधार बनाएको छ।
युद्धका क्रममा पछिल्लो समय ड्रोन आक्रमण तीव्र बनेको छ। संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार अक्टोबरका पहिलो तीन सातामा मात्रै ड्रोन आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन्।
सन् २०२३ मा युद्ध सुरु भएयता सुडानमा दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको सहायता क्षेत्रमा कार्यरत व्यक्तिहरूको अनुमान छ। युद्धका कारण देशमा भोकमरी र व्यापक विस्थापनको सङ्कटसमेत गहिरिँदै गएको छ।