केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्।
प्रहरीका अनुसार राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनाका बेला बसमा सवार यात्रुहरू अन्त्येष्टि कार्यक्रममा सहभागी भएर फर्किरहेका थिए।
माकुएनी काउन्टीका आयुक्त अब्दुल्लाही खालिफले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्। घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।
यसअघि सोही राजमार्गमा १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो।
केन्याको राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणका अनुसार दुर्घटना भएको राजमार्गको उक्त खण्डलाई सडक दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। तीव्र गति र सडकको खराब अवस्थालाई केन्यामा हुने सडक दुर्घटनाका प्रमुख कारण मानिँदै आएको छ।