नागढुंगाबाट खैरो हेरोइनजस्तो पदार्थसहित एक जना पक्राउ
काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा गरिएको जाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी २९ वर्षीय युवराज लामाको साथबाट उक्त पदार्थ बरामद गरिएको हो।
प्रहरी वृत्त थानकोट र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको छ।