सुनसरीमा बोराभित्र पुरुषको शव फेला
सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। स्थानीयवासीले आइतबार बिहान खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलमा सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लसहितको टोली पुगेर घटनाबारे जानकारी लिएको छ।
प्रहरीका अनुसार हालसम्म मृतक पुरुषको पहिचान खुल्न सकेको छैन। शव बोराभित्र हालिएको अवस्थामा फेला परेकाले घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी उपरीक्षक मल्लले मृतकको पहिचान खुलेपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।