त्रियुगामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शनिबार बेलुकी त्रियुगा–११ को इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।