लोक सेवा तयारी गरिरहेका २६ वर्षीय युवक सुर्खेतमा मृत फेला
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र रोकाया रहेका छन् । उनी वीरेन्द्रनगर–८ निवासी नवीनकुमार केसीको घरमा डेरा गरी बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रोकाया बिहीबार बिहान आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी विगत एक वर्षदेखि लोक सेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा डेरा गरी बस्दै आएका थिए ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा सोको (SOCO) सहितको प्रहरी टोली परिचालन गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिए ।