विजया दशमीको टीकापछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्यो
विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्तकहाँ जाने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ ।
फूलपाती, महाअष्टमी र महानवमीको तुलनामा टीकाको शुभसाइतपछि उपत्यकाका सडकमा सवारी साधनको चाप बढेको हो । सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या बढेसँगै भीडभाडसमेत देखिन थालेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अहिले काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडक तथा उपत्यका भित्रिने प्रमुख नाकामा सवारी साधन सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् ।
टीकाका दिन आफन्तकहाँ आउने–जाने मानिसको सङ्ख्या बढेकाले पछिल्ला दुई–तीन दिनको तुलनामा सडकमा सवारी साधन बाक्लिएको उनले बताए । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले सम्भावित भीडभाड हुने क्षेत्रमा निगरानी बढाउनुका साथै सवारी नियम पालना गराउन नियमित जाँच गरिरहेको छ । दसैँ मनाउन गाउँघर गएका सर्वसाधारण आफ्नो पेसा तथा व्यवसायका लागि काठमाडौं फर्कने क्रम पनि सुरु भएको छ ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसँगको समन्वयमा सवारी साधनको यान्त्रिक परीक्षण, तीव्र गतिमा सवारी चलाउनेमाथि निगरानी तथा चालकले मादक पदार्थ र लागूऔषध सेवन गरे–नगरेको परीक्षणलाई निरन्तरता दिइएको सुवेदीले जानकारी दिए ।
ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको उनले बताए ।
दसैँ मनाएर काठमाडौं फर्कने यात्रुको चाप आगामी दिनमा थप बढ्न सक्ने भएकाले प्रमुख नाका तथा राजमार्गमा सोहीअनुसार ट्राफिक व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।
सुरक्षा निकायको अनुमानअनुसार दसैँ मनाउन काठमाडौं उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएका छन् ।