बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता, १७९ प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ। सो अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका २० पुराना मुद्दाको अनुसन्धान पूरा गरिएको छ।
प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा ७० जना पक्राउ परेका छन्। उनीहरूबाट २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १०६ उजुरीमध्ये ९३ वटा फछ्र्योट भएका छन्। साथै, असोजमा हराएका विभिन्न उमेर समूहका व्यक्तिमध्ये महिला १६, बालिका १३, बालक छ, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष दुई जना फेला परेको प्रहरीले जनाएको छ।