महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा प्रदर्शन, करिब एक हजार पक्राउ
महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको प्रदर्शनका क्रममा विभिन्न सहरमा झडप हुँदा करिब एक हजार जना पक्राउ परेका छन्। घटनामा दुई जना गम्भीर घाइते भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।
दिनभर शान्तिपूर्ण रूपमा चलेको प्रदर्शन साँझतिर उग्र बनेपछि राजधानी पेरिससहित विभिन्न सहरमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।
स्थिति नियन्त्रणमा लिन संगठित अपराध तथा आतंकवादविरुद्ध परिचालन गरिने विशेष प्रहरी टोलीसमेत खटाइएको थियो। केही नकाबधारी युवाले कार सोरुमका सिसा फुटाएपछि प्रहरीले लाठीचार्ज गरेको जनाइएको छ।
राजधानी पेरिसका साथै मार्सेई, लियोँ र बोर्डोमा प्रदर्शन हिंसात्मक बनेको थियो। मार्सेईमा सडक अवरुद्ध गर्न राखिएका ब्यारिकेडमा आगजनी गरिएको थियो भने बोर्डोमा प्रदर्शनकारीले पसलका काठका फल्याकहरू निकालेका थिए।
फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। तर मजदुर सङ्गठनहरूले भने प्रदर्शनमा करिब आठ लाख मानिस सहभागी भएको दाबी गरेका छन्।
सम्भावित हिंसा नियन्त्रण गर्न देशभर करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो। राष्ट्रपति इम्यानुएल म्याक्रोनले मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले सरकारका नीतिका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र महँगीले दैनिक जीवनयापन कठिन बनेको बताएका छन्। उनीहरूले आर्थिक असमानता घटाउन र जनताको जीवनस्तर सुधार गर्न सरकारसँग माग गरेका छन्।
यसअघि गत साता भएको हिंसालाई फ्रान्सको आधुनिक इतिहासकै गम्भीर अशान्तिमध्ये एकका रूपमा हेरिएको थियो। उक्त घटनामा देशभर दुई हजारभन्दा बढी पसल तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका थिए। वाणिज्य तथा उद्योग सङ्घका अनुसार त्यसबाट सयौँ मिलियन युरो बराबरको आर्थिक क्षति भएको अनुमान छ। घटनाका क्रममा करिब एक हजार प्रहरीसमेत घाइते भएका थिए।