निर्वाचनअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन, सुरक्षा चूकको छानबिन गर्न माग
इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणअघि भएका सुरक्षा कमजोरीको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
शनिबार राजधानी तेल अभिभमा भएको प्रदर्शनमा इजरायलका प्रमुख चार विपक्षी दलका नेतासमेत सहभागी भएका थिए। समाचार संस्था एएफपीका अनुसार नेतान्याहूका प्रमुख चुनावी प्रतिस्पर्धी तथा पूर्वसेना प्रमुख गादी आइजेनकोट पनि प्रदर्शनमा सहभागी भएका थिए।
‘अक्टोबर काउन्सिल’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा हमासको आक्रमणमा मारिएका तथा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य सहभागी थिए। उनीहरूले आक्रमण हुनुअघि भएका सुरक्षा चूकको छानबिन गर्न स्वतन्त्र सरकारी आयोग गठन गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीले सुरक्षा कमजोरीका लागि जिम्मेवार अधिकारीको पहिचान गरी उनीहरूलाई जवाफदेही बनाउनसमेत सरकारसँग माग गरेका छन्।