भारतको अरुणाचलमा विशाल बाँधको विरोधमा प्रदर्शन, ४० प्रहरी घाइते
चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा भारतको अरुणाचल प्रदेशमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा करिब ४० जना प्रहरी घाइते भएका छन्।
मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्ध शुक्रबार राति भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको हो।
प्रदर्शनकारीले प्रहरी चौकी, एनएचपीसीको कार्यालय तथा सरकारी भवनमा तोडफोड र आगजनी गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेको सरकारी अधिकारीहरूले बताएका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
मुख्यमन्त्री खाण्डुले स्थानीयवासीलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्ता गर्न आग्रह गरेका छन्। प्रस्तावित परियोजनाले घरजग्गा गुमाउनुपर्ने र स्थानीय समुदाय विस्थापित हुन सक्ने भन्दै बासिन्दाले विरोध गर्दै आएका छन्।