वीरगञ्ज भन्सारद्वारा असोजमा २६ अर्ब ७२ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले उक्त महिनाका लागि निर्धारण गरेको लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो।
कार्यालयले असोज महिनामा २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
त्यसैगरी, खाना पकाउने एलपीजी ग्यासको आयातबाट एक अर्ब ८० करोड रुपैयाँ, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड रुपैयाँ तथा फलफूलतर्फ स्याउ र नास्पातिको आयातबाट ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्ममा कुल ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ सङ्कलन भएको छ। यस अवधिमा लक्ष्यको तुलनामा एक अर्ब ४३ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको हो।
चाडबाडका कारण आयात तथा व्यापारिक गतिविधिमा भएको वृद्धिले असोज महिनामा राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भएको कार्यालयले जनाएको छ।