बोस्नियामा ईयूफोरको सैन्य हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं । बोस्निया–हर्जगोभिनामा युरोपेली संघ (ईयू) को शान्ति मिसन ईयूफोरमा आबद्ध इटालियन सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
बिहीबार बोस्नियाको ब्रच्को क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा सीएच–४७ चिनुक हेलिकोप्टर दुर्घटनामा परेको ईयूफोरले जनाएको छ । दुर्घटनास्थल राजधानी सारायेभोबाट करिब १८० किलोमिटर उत्तरमा रहेको छ ।
इटालीको रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा दुई सैनिक र रेडक्रसका दुई स्वयंसेवकको मृत्यु भएको हो । हेलिकोप्टरमा सवार सबै जना इटालियन नागरिक रहेको इटाली सरकारले जनाएको छ ।
दुर्घटनापछि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते १२ जनालाई अस्पताल पुर्याइएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको ब्रच्को अस्पतालका प्रवक्ताले बताएका छन् । बाँकी ११ जना घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको उपचार भइरहेको ईयूफोरले जनाएको छ ।
हेलिकोप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको ईयूफोरले जनाएको छ ।
बोस्निया–हर्जगोभिनामा सन् २००४ देखि ईयूफोर शान्ति मिसन तैनाथ छ । यस मिसनमा करिब एक हजारदेखि १५ सयसम्म सुरक्षाकर्मी आबद्ध छन् । सन् १९९५ मा बोस्निया युद्ध अन्त्य गर्न भएको डेटन शान्ति सम्झौताको कार्यान्वयनको निगरानी गर्नु मिसनको प्रमुख जिम्मेवारी हो ।