पाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार राति थारपारकर जिल्लाको नगरपारकर सहरस्थित एक स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो।
विस्फोटमा परी मृत्यु भएकाहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ।
घटनाको कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ। विशेषज्ञ टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन तथा परीक्षण गरी विस्फोटको कारणबारे अनुसन्धान गर्नेछ। विस्फोट कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।