हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु भएको छ।
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका हुन्। कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनमा शिक्षा क्षेत्रका विभिन्न विषयमा छलफल हुनेछ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी थिए। उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षासम्बन्धी प्रस्तुति दिएका थिए।
सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका उपकुलपति, कुलपति तथा रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।
सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका उपलब्धि, असल अभ्यास र चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। साथै, प्रदेशहरूबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न छलफल गरिनेछ।
सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौती, संघ तथा प्रदेश सरकारबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिलगायत विषयलाई प्राथमिकता दिइनेछ।
त्यस्तै, प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति निर्माण गर्ने विषयमा समेत छलफल हुनेछ।
दुईदिने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन, उच्च शिक्षाको विकासका लागि सहकार्यका क्षेत्र पहिचान गर्न तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।