नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने
नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णयअनुसार शुल्क उठाउन लागिएको जनाएको छ।
सरकारले सवारीसाधनको प्रकार र क्षमताअनुसार फरक–फरक शुल्क निर्धारण गरेको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनीबस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकले क्रमशः २६० र २०० रुपैयाँ तिर्नुपर्नेछ।
मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
सुरुङमार्ग गत साउन ११ गते उद्घाटन भएपछि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको थियो।