धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ
धादिङको गजुरी गाउँपालिका–८ स्थित मजुवा र सिउरेनीबाट प्रहरीले चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान करिब ६ बजे पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८, मजुवा निवासी १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही ठाउँको सिउरेनी निवासी २२ वर्षीय शिशिर तामाङ रहेका छन्।
प्रहरीका अनुसार सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–नीलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान बन्दुक बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका दुवै जना यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको जनाएको छ। शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता रहेको छ।
त्यसैगरी, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको प्रहरीले जनाएको छ।
बरामद मोटरसाइकल र बन्दुकसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।