मधेसमा नयाँ सरकार गठनका लागि एमाले, जसपा र जनमतबीच छलफल
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन्।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच सरकार गठनका विषयमा छलफल भइरहेको छ। तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याउने गरी संवाद भइरहेको बताएका छन्।
नयाँ समीकरणमा तीनवटै दलले सरकारको नेतृत्वमा दाबी गर्दै आएका छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आएको छ। जसपाका संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीन दलका अध्यक्षबीच केन्द्रबाटै नेतृत्वबारे सहमति जुटाउने समझदारी भएको छ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक छ। प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।