नक्कली सवारी दर्ता किताब बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ
नक्कली सवारी दर्ता किताब (ब्लुबुक) बनाएर ठगी गर्न खोजेको आरोपमा प्रहरीले काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने ३१ वर्षीय भोजराज थापा मगर रहेका छन्।
लिखत कीर्ते गरी चारपाङ्ग्रे सवारी साधन बिक्री गर्न नक्कली ब्लुबुक तयार पारिएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई मित्रनगरबाट पक्राउ गरेको हो।
पक्राउ परेका थापामगरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।