मकवानपुरमा भारतीय गाडीबाट दोस्रो पटक पनि गाँजा बरामद
जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको भारतीय नम्बरप्लेटको एउटा सवारीसाधनबाट दोस्रो पटक पनि ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
कात्तिक १० गते हेटौँडाको पीपलबोटमा चेकजाँचका क्रममा गाँजासहित नियन्त्रणमा लिइएको गाडीमा थप लागुऔषध हुन सक्ने आशंकामा प्रहरीले पुनः खानतलासी गर्दा थप ४७ किलो ६०० ग्राम गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार कात्तिक १० गते दिउँसो १ः३५ बजे हेटौँडा उपमहानगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा प्रहरी चौकी रातोमाटेबाट खटिएको ट्राफिकसहितको टोलीले चेकजाँच गर्दा गाडीबाट १९ वटा पोकामा राखिएको ४२ किलो ४१० ग्राम गाँजा बरामद गरेको थियो।
त्यसपछि गाडीमा थप गाँजा लुकाइएको हुन सक्ने आशंकामा दक्ष मेकानिक्स बोलाएर विभिन्न भागमा खानतलासी गरिएको थियो। सो क्रममा गाडीका विभिन्न भागमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा थप ४७ किलो ६०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार गाडीको विभिन्न पार्टपुर्जा खोलेर जाँच गर्ने क्रममा लुकाइएको गाँजा फेला परेको हो।
बीआर १ एपी ६०७३ नम्बरको उक्त गाडीबाट पहिलो पटक ४२ किलो ४१० ग्राम र दोस्रो पटक ४७ किलो ६०० ग्राम गरी कुल ९० किलो १० ग्राम गाँजा बरामद भएको छ।
गाँजासहित गाडीका चालक भारतको बैसाली महुवा टोलका २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय पक्राउ परेका थिए।