कांग्रेस रुपन्देही–५ को क्षेत्रीय सभापतिमा कमलप्रसाद भुसाल निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा पक्षको रुपन्देही क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनबाट कमलप्रसाद भुसाल सभापतिमा निर्वाचित भएका छन्।
लुम्बिनीस्थित बुद्धमाया होटल प्यालेस, पर्सा चोकमा सम्पन्न अधिवेशनले भुसालको नेतृत्वमा नयाँ क्षेत्रीय कार्यसमिति चयन गरेको हो।
अधिवेशनको उद्घाटन समारोहमा दामोदर भुसाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा युवा नेता विष्णु पोखरेल, लुम्बिनी अञ्चल सहसंयोजक लीला कुमारी पौडेल, युवा नेता आशिष शर्मा, पूर्वप्रदेशसभा सदस्य रमा अर्याल तथा क्षेत्र नम्बर ५ का सहसंयोजक गुनाखर पोखरेललगायत नेताहरूको उपस्थिति थियो।
अधिवेशनमा सहभागी नेताहरूले पार्टी संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको मजबुती तथा नेता–कार्यकर्ताबीच एकता र सहकार्य आवश्यक रहेको बताएका थिए।
उनीहरूले पार्टीलाई जनतासँग थप नजिक बनाउँदै जनताका समस्या, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।