चक्रवात र पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले आज अपराह्नदेखि अर्नब चक्रवातको प्रभाव क्रमशः कम हुँदै जाने जनाएको छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुने सम्भावना छ। यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न महाशाखाले अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ।
त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन पनि महाशाखाले अनुरोध गरेको छ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।