मकवानपुरमा डिजेल बोकेको ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुरमा डिजेल लोड भएको ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेस्थित फास्ट्याक नजिक मदन भण्डारी लोकमार्गमा हिजो साँझ ट्यांकर दुर्घटना भएको हो।
हेटौँडाबाट हात्तीसुँडे जाँदै गरेको ना६ख २९४९ नम्बरको डिजेल लोड भएको ट्यांकर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनापछि ट्यांकरमा च्यापिएर चालक सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी ४० वर्षीय रमेशकुमार रायमाझीको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।