उपराष्ट्रपति यादव–सार्क महासचिव भेट : क्षेत्रीय सहयोग र चुनावी अवस्थाबारे छलफल
१९ मंसिर, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। शुभकामना आदानप्रदानपछि दुवैबीच सार्क सदस्य मुलुकहरूको पछिल्लो राजनीतिक अवस्था, क्षेत्रीय सहयोग र संगठनको भविष्यसहित बहुआयामिक विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएकाले महासचिवको जिम्मेवारी निर्वाहमा नेपाल सरकारको पूर्ण सहयोग रहने आश्वासन दिए। उनले यस वर्ष सार्क चार्टर हस्ताक्षरको ४०औँ वार्षिकोत्सवका अवसरमा महासचिवलाई बधाई दिंदै संस्था अनेक चुनौती पार गर्दै यहाँसम्म आइपुगेको र दक्षिण एसियाली जनताले यसबाट ठूलो अपेक्षा राखेको उल्लेख गरे।
भेटका क्रममा उपराष्ट्रपतिले नेपालमा गत सेप्टेम्बरमा भएको ‘जेनजी’ आन्दोलनपछि देश आमनिर्वाचनतर्फ अघि बढेको जानकारी गराउँदै सरकारले आगामी मार्चमा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न केन्द्रित रहेको बताए।
सन् १९८५ मा सार्क स्थापना भएयता आपसी सहयोग, आर्थिक–सामाजिक प्रगति र सांस्कृतिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै यादवले सार्क बडापत्रका सिद्धान्तप्रति नेपालको निरन्तर प्रतिबद्धता पुनः व्याख्या गरे। दक्षिण एसियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशा–आकांक्षा पूरा गर्न सार्कलाई परिणाममुखी र गतिशील बनाउन सदस्य राष्ट्रबीच एकता र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
उपराष्ट्रपति यादवले १९औँ सार्क शिखर सम्मेलन आयोजनामा भएको ढिलाइले संगठनको कार्यगत गतिमा प्रतिकूल असर परेको बताउँदै सदस्य राष्ट्रहरूले छिट्टै सहमति जुटाएर अवरुद्ध सम्मेलन अघि बढाउने आशा व्यक्त गरे। उनले सार्कका क्रियाशील संयन्त्र र विभिन्न क्षेत्रीय केन्द्रहरूलाई सक्रिय राखेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्न महासचिवको ध्यानाकर्षण गराए।
महासचिव मोहम्मद गोलाम सरवरले उपराष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्दै सार्क प्रक्रियालाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धता अपरिहार्य भएको बताए। नेपालले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै उनले उपराष्ट्रपतिको सुझाव र मार्गदर्शन सार्कलाई सक्रिय, आधुनिक र चुनौती सामना गर्न सक्षम बनाउने दिशामा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।