एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग
१८ मंसिर, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्ने भएको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो र छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने जानकारी दिएका छन्। उनले भने, “टेण्डर आह्वान भइसकेको छ र चाँडै कम्पनी चयनको निर्णय हुनेछ।”
एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।
यस महाधिवेशनले १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी सदस्य चयन गर्नेछ। करिब २,२०० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अनुमान गरिएको छ।
महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने छ। उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने जानकारी दिइएको छ।