देशविदेशका दुमी किरात राई खोटाङमा भेला, आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न
खोटाङ । देश तथा विदेशमा बसोबास गर्ने दुमी किरात राईहरू खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आठौँ राष्ट्रिय महाधिवेशनका लागि भेला भएका छन्। महाधिवेशनमा नेपालसहित भारत, हङकङ, अमेरिका र बेलायतमा रहेका दुमी किरात राई सहभागी भएका थिए।
‘पुर्ख्यौली ज्ञान, साझा पहिचान’ नाराका साथ सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गरिएको छ। कार्यक्रमले एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ।
महाधिवेशनको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरी तथा नाग्रे कुबीले तीन चुल्हा पुजेर गरेका थिए। कार्यक्रममा साकेला सिली, मारुनी नाच, मुन्दुमी बखान र विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।
उक्त अवसरमा दुमी किरात राईहरूको ३२ वर्षको मेहनतबाट तयार पारिएको ९५० पृष्ठको वंशावली विमोचन गरिएको छ। संस्कृतिविद् चतुरभक्त राईलाई वंशावलीको सम्पादनको लागि फन्सीकीमले ताम्रपत्रसहित सम्मान गरेको छ।
महाधिवेशनमा समुदायको सांस्कृतिक संरक्षण, पुराना परम्पराको आदानप्रदान र भविष्यका रणनीतिमा ध्यान केन्द्रित गरिएको थियो।