काठमाडौंमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे ब्रिफिङ हुने
काठमाडौं, १९ मंसिर – निर्वाचन आयोगले चुनाव तयारीबारे सरकार र राजनीतिक दलहरूलाई ब्रिफिङ दिन सर्वपक्षीय बैठक आयोजना गर्दैछ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय र आयोगका आयुक्तहरू सहभागी हुनेछन्।
बैठकमा आयोगका आयुक्तहरूले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन तयारी, कानुनी जटिलता, स्रोतसाधन उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे बृफिङ दिनेछन्। आयोगले चुनाव हुने सुनिश्चित वातावरण बनाउन पूर्व तयारी चुस्त हुनुपर्ने र त्यसका लागि सरकार र राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताएको छ।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार, “सरकार चुनाव गराउने र राजनीतिक दलले विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्छ। लुटिएका हतियारबारे स्पष्टता दिने विषय समेत बैठकमा प्राथमिकतामा रहनेछ।”
आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ, जसमा १३ दल भाग लिने निश्चित भइसकेको छ। साथै, २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन तय भएको छ, जसमा भाग लिन ११७ राजनीतिक दलले निवेदन दिएका छन्। आयोग अहिले ती निवेदनको अध्ययनमा छ।