कांग्रेसमा चेतावनी : नियमित महाधिवेशन रोकिए विशेष महाधिवेशन आह्वान
१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर समूहले नियमित १५औं महाधिवेशनको कार्यतालिका कार्यान्वयनमा अवरोध भए विशेष महाधिवेशन डाक्ने चेतावनी दिएको छ। बिहीबार बसेको भेलाले पार्टी केन्द्रीय समितिले तय गरेको पुस २६–२८ को महाधिवेशनलाई सफलतापूर्वक गराउन सक्रिय भूमिकासहित अघि बढ्ने निर्णय गरेको हो।
भेलामा सहभागी तथा विशेष महाधिवेशनका हस्ताक्षर अभियन्ता नारायण भट्टराईले १५औं महाधिवेशन रोक्न खोजिए वा कार्यतालिका निष्प्रभावी बनाउन प्रपञ्च रचिए विशेष महाधिवेशनको घोषणा गर्न बाध्य हुने बताए।
केन्द्रीय समितिले १६ पुसदेखि वडा अधिवेशन सुरु गर्ने र पुस २६ देखि महाधिवेशन सञ्चालन गर्ने कार्यतालिका सर्वसम्मत रूपमा पारित गरिसकेको छ। तहगत अधिवेशन अघि क्रियाशील सदस्यता टुंगो लगाउनुपर्ने भएकाले पक्षधरहरूले आ–आफ्नो क्षेत्रबाट सक्रिय हुने निर्णय गरेका छन्।
असोज २९ गते कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाइसकेका छन्।