कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिकामा छलफल
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि सोमबार पदाधिकारी बैठक बस्ने भएको छ। बैठक दिउँसो १२:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ।
बैठकको मुख्य एजेण्डा केन्द्रीय समितिमा पेश गर्नुपर्ने १५औँ महाधिवेशनको कार्यतालिका रहेको छ। कार्यतालिकामा सहमति जुटेपछि यसलाई केन्द्रीय समितिमा पेश गरिनेछ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेश गर्ने तयारी गरेका छन्। कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विवादले केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि स्थगित भएको थियो।
सभापति शेरबहादुर देउवा स्वयं पुसभित्र महाधिवेशन सम्पन्न गर्ने तयारीमा रहेको बताइएको छ। कार्यतालिकामा सहमति भएपछि केन्द्रीय समितिमा निणायार्थ प्रस्ताव पेश गरिने छ।