कांग्रेस महाधिवेशन: मध्यमार्गी प्रस्तावमै संस्थापन पक्ष असन्तुष्ट
काठमाडौँ — नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको मिति निर्धारणको विवाद झन् चर्किएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता महाधिवेशन गर्ने मध्यमार्गी प्रस्ताव ल्याउन लागेको खबर सार्वजनिक भएसँगै संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले नै त्यसप्रति असन्तुष्टि जनाएका छन्।
खड्काले प्रस्ताव अघि बढाउनुअघि सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य गुरु बराल, किरण पौडेल, जीतजंग बस्नेतलगायत नेताहरूसँग सहयोग मागेका भए पनि उनीहरूले प्रस्ताव स्वीकार गर्न नसकिने चेतावनी दिएका छन्।
केन्द्रीय सदस्य बरालले खड्कासँगका छलफल सफल नभएको बताउँदै भने, “अहिलेसम्म कुरा मिलेको छैन। चित्त बुझ्दो प्रस्ताव आएन भने स्वीकार गर्ने अवस्था हुँदैन।” पार्टीको सदस्यता र संगठनको काम अझै टुंगोमा नपुगेका बेला ‘फास्ट ट्रयाक’ महाधिवेशन सम्भव नभएको उनको तर्क छ।
खड्कासँग कुरा नमिलेपछि उनीहरू पूर्वपदाधिकारीसहित सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका थिए। भेटमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायत पुसमा महाधिवेशन हुन नहुने अडानमा रहेका नेता सहभागी थिए।
विशेष महाधिवेशन पक्षधरहरूले समेत पुसमा महाधिवेशन गर्ने प्रस्ताव अर्थहीन हुने भन्दै विशेषको प्रस्ताव फिर्ता नलिए वैशाखमै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्।
महाधिवेशन विवादका कारण स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्नेछ।