मधेशका मुख्यमन्त्री सरोज यादव भोलि दिउँसो २ बजे विश्वासको मत लिने
१६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्रका आधारमा विश्वासको मत लिने तयारी गरिएको जानकारी दिए। उनले आजै प्रदेश सभा सचिवालयलाई पत्र पठाई प्रक्रिया अघि बढाइएको बताए।
विगतमा आफ्नो सरकारलाई साथ दिएका दलहरूले यसपटक पनि विश्वासको मत दिने अपेक्षा व्यक्त गर्दै मुख्यमन्त्री यादवले संविधानिक दायित्वअनुसार निर्धारित समयमा मत लिन लागिएको स्पष्ट पारे। सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशित गर्दै मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो, जसअनुसार बुधबार दिउँसो निर्धारित समयभित्र मत लिन लागिएको हो।