अख्तियार प्रमुखसहित १० हाइप्रोफाइल व्यक्तिमाथि धम्की, उपत्यकाभर सुरक्षा कडा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० हाइप्रोफाइल व्यक्तिहरूको सुरक्षा कडा बनाइएको छ। आफूलाई ‘उग्रवादी संगठन’ को अध्यक्ष बताउने एक युवकले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार विशेष सुरक्षा निगरानीका लागि सर्कुलर जारी गरेको हो।
प्रहरीले ती व्यक्तिहरूका निवास, भ्रमण मार्ग, कार्यक्रमस्थल तथा सम्भावित जोखिम भएका क्षेत्रहरूमा निगरानी बढाउन काठमाडौँ, ललितपुर र भक्तपुरका सबै प्रहरी युनिटहरूलाई निर्देशन दिएको छ।
धम्की भिडियोमा पूर्वअख्तियार प्रमुख लोकमान सिंह कार्की, पूर्वआईजीपीहरू गोपालबहादुर खड्का, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वमन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँण, आरजु राणा, व्यवसायी दुर्गा प्रसाईं र रमेश चन्द ठकुरीलाई ‘सफाया गर्ने’ भन्दै लक्षित गरिएको छ।
उपत्यका प्रहरी कार्यालयले सर्कुलरमा कथित उग्रवादी समूहहरूको गतिविधिबारे सूचनासङ्कलन बढाउन र क्षेत्रमै रहेका अन्य विशिष्ट व्यक्तिहरूको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रहरीलाई आदेश दिएको छ।
धम्की दिने युवकबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ। एसएसपी रमेश थापाले भने, ‘अवाञ्छित तरिकाले धाकधम्की दिएको विषयमा अनुसन्धान भइरहेको छ।’ भिडियोमा आफूलाई ‘एक्स्ट्रीमिस्ट ग्रुप अफ नेपाल’ का अध्यक्ष बताउने युवकले अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा माग्दै ‘अन्यथा सक्काइदिने’ धम्की दिएको छ।
युवकले आफू भारतमा रहेको र पक्राउ गर्न नसकिने दावी पनि भिडियोमा गरेको देखिन्छ।
प्रहरीले युवकको पहिचान र अवस्थाबारे गम्भीर छानबिन अघि बढाएको छ।