मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिन तयारीमा
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने तयारी गरेका छन्। एमाले स्रोतका अनुसार बहुमत नपुग्ने अवस्था देखिएपछि यादवले राजीनामा दिने निर्णय गरेका हुन्।
सर्वोच्च अदालतले सोमबार उनलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। अदालतको आदेशअनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइएको थियो, तर सत्तापक्षकै सांसद अनुपस्थित भएका कारण बैठक दिउँसो २ बजेलाई सारिएको छ।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोले पनि यादवलाई राजीनामा दिन सुझाव दिएका छन्। उनले भने, “अहिलेको अवस्थामा विश्वासको मत लिँदा बहुमत पुग्ने अवस्था छैन, त्यसैले राजीनामा दिँदा नै राम्रो हुन्छ।”
यादव गत कात्तिक २३ गते नियुक्त भएका थिए। उनी तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेता भएर मुख्यमन्त्री बनेका थिए। उनका नियुक्ति विषयलाई लिएर सर्वोच्चमा मुद्दा परेको थियो।
यादवको राजीनामा सँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले फिर्ता पठाइसकेको छ भने सभामुख रामचन्द्र मण्डल पनि हटिसकेका छन्।