वाइडबडी प्रकरण : अख्तियारद्वारा विशेष अदालतको फैसालाविरुद्ध सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। विशेष अदालतले केही व्यक्तिलाई मात्र दोषी ठहर गर्दै धेरैलाई सफाइ दिएपछि उक्त निर्णय त्रुटिपूर्ण रहेको जनाउँदै अख्तियारले सो फैसला बदर गरी सबै आरोपीलाई सजाय हुनुपर्ने मागसहित पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिएको थियो। तर ११ जनालाई भने दोषी ठहर गरिएको थियो। अख्तियारले २०८० चैत २२ गते आरोपपत्र दायर गरेको उक्त मुद्दाको फैसला गत मंसिर २० गते विशेष अदालतले सुनाएको थियो।
वाइडबडी खरिदमा अनियमितता भएको आरोपमा पूर्वमन्त्री शाही, पूर्वसचिव शंकरप्रसाद अधिकारी, शिशिरकुमार ढुङ्गाना सहित २४ जना नेपाली, छ विदेशी नागरिक र विमान आपूर्तिकर्ता दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। सो मुद्दामा करिब एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ मागदाबी गरिएको अख्तियारले जनाएको छ।