नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति
खोटाङ, १५ मंसिर – नेकपा एमाले खोटाङमा आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट विवादमा परेको छ। जिल्ला अध्यक्ष देवविक्रम राईले सार्वजनिक गरेको प्रतिनिधि सूचीप्रति असहमति जनाउँदै २८ जना युवा नेताले पार्टी विधानविपरीत प्रतिनिधि छनोट भएको भन्दै सच्याउन माग गरेका छन्।
कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेका अनुसार, पार्टी विधानका धारा ७५, ७६ र ७७ अनुसार प्रतिनिधि छनोटमा सदस्यहरूको सार्वभौम अधिकार कायम रहनु, लोकतान्त्रिक प्रक्रिया अपनाउनु र फरक मतको सम्मान गर्नु आवश्यक छ। तर, आवश्यक प्रक्रिया पूरा नगरी नेताहरूको गोजीबाट प्रतिनिधि चयन गरिएको भन्दै युवा नेताहरूले विरोध गरेका हुन्।
अध्यक्ष राईले भने प्रतिनिधि छनोट निर्विरोध भएको दाबी गर्दै १० जनाको नाम सार्वजनिक गरेका छन्। सूचीअनुसार खुलातर्फ कुमारप्रसाद आचार्य, देवविक्रम राई, पिके राई, रामप्रसाद दंगाल र सुरेन्द्रकुमार राई, युवा तर्फ जगत राई, दलित तर्फ दीपक ठटाल, महिला तर्फ कविता राई, पुष्पकला भुजेल र विणादेवी राई प्रतिनिधि चयन भएका छन्।
यस विवादले खोटाङ एमाले भित्र महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा राजनीतिक दबाब र असहमति देखाएको छ।