एमाले ११औँ महाधिवेशनको तयारी तीव्र, सल्लाघारीमा उद्घाटन स्थलको अनुगमन
काठमाडौँ । नेकपा (एमाले) को मंसिर २७ गतेबाट सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थल बुधबार पार्टीका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरूले अनुगमन तथा निरीक्षण गरेका छन्। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले महाधिवेशन तयारीको प्रगति हेरेका हुन्।
अनुगमन टोलीमा उपमहासचिव ज्ञवालीसँगै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, नेता विनोद श्रेष्ठ, जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङलगायत नेताहरू सहभागी थिए।
उपमहासचिव ज्ञवालीले उद्घाटन स्थलमा करिब दुई लाख जना दर्शक अट्न सक्ने क्षमता रहेको बताउँदै सल्लाघारीमा अभूतपूर्व भीड हुनेछ भनेर दाबी गरे। उनले महाधिवेशन तयारी उत्साहजनक रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै विभिन्न समितिहरूले तीव्र गतिमा काम गरिरहेको जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन हुने महाधिवेशनमा करिब २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ। उद्घाटन कार्यक्रमका लागि देशभरबाट करिब १ लाख ५० हजारभन्दा बढी कार्यकर्ता उपस्थित हुने अपेक्षा गरिदैँ, पार्टीले व्यापक तयारीमा जुटेको छ।