कांग्रेसमा चेतावनी : महाधिवेशन रोकिए विशेष महाधिवेशन आह्वान
१८ मंसिर, काठमाडौं । नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयनमा अवरोध गरिए आफूहरूले विशेष महाधिवेशन आह्वान गर्ने चेतावनी नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहले दिएको छ।
विशेष महाधिवेशन पक्षधर समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको भेलाले पार्टी केन्द्रले पारित गरेको १५औं Mahadhiveshan कार्यतालिका कार्यान्वयनका लागि सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ। सो समूहले १५औं महाधिवेशनको प्रक्रिया रोक्न खोजिए वा कार्यतालिका अलपत्र पार्ने प्रवृत्ति देखिए विशेष महाधिवेशन बोलाउने विकल्प खुला राखेको जनाएको छ।
हस्ताक्षर अभियानका अगुवा नारायण भट्टराईले भेलापछि भने, “यदि १५औं महाधिवेशन रोक्ने प्रपञ्च गरेर कार्यतालिका लागू हुन नदिइयो भने हामी विशेष महाधिवेशनको घोषणा गर्न बाध्य हुन्छौं।”
यसअघि पार्टी केन्द्रीय समितिले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत रूपमा पारित गरिसकेको छ। कार्यतालिका अनुसार पुस १६ गते वडा अधिवेशन सुरु गरी त्यसपछि क्रमशः तहगत अधिवेशन सम्पन्न गर्दै पुस २६ देखि महाधिवेशन सञ्चालन गर्ने तयारी छ। तर अधिवेशन अघि क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्ने नियम छ, जसमा ढिलाइ हुँदै आएको पक्षधरहरूको भनाइ छ।
भट्टराईले सबै जिल्ला र क्षेत्रमा फर्केर क्रियाशील सदस्यता तथा अधिवेशन तयारीमा सक्रिय हुने निर्णय भेलाबाट भएको जानकारी दिए। उनले भने, “हामी नियमित महाधिवेशन सफलतापूर्वक गराउन तयार छौँ। तर कार्यतालिका नाममात्र देखाइ महाधिवेशन अघि नधेलिने अवस्था आयो भने विशेष महाधिवेशन नै विकल्प रहन्छ।”
कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग राख्दै हस्ताक्षर बुझाएका थिए।