सञ्चारमन्त्री खरेल घरदैलोमा पुगे, बङ्गलामुखीमा स्थानीयसँग साक्षात्कार
ललितपुर – बिहीबार नेवार समुदायको प्रमुख चाड योमरी पुन्हीको अवसरमा बङ्गलामुखी मन्दिर क्षेत्रमा भीडभाड रहेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल स्थानीय समुदायसँग साक्षात्कार गर्न पुगेका छन्।
मन्त्री खरेलको आगमन स्थानीय र जनप्रतिनिधिहरूका लागि अप्रत्याशित रह्यो। स्थानीयहरूले मन्त्रीलाई प्रत्यक्ष भेटेर आफ्नो समस्या, पीडा र सुझाव राख्न पाएकोमा खुसी व्यक्त गरे। स्थानीय प्रणव श्रेष्ठले भने, “पहिला मन्त्री भेट्न सिंहदरबार जानुपर्थ्याे, तर अहिले मन्त्री नै घरदैलोमा आए।”
स्थानीय रेणु महर्जन, सन्तु महर्जन र बाबुलाल महर्जन लगायतले मन्त्रीसँग प्रत्यक्ष संवाद पाउँदा खुशी व्यक्त गरे।
सञ्चारमन्त्री खरेलले भने, “कार्यक्रमको आवरणविना, औपचारिकताविनै जब मन्त्री नागरिकको बीचमा पुग्छ, तब मात्र देशका वास्तविक समस्या, पीडा र अपेक्षा बुझ्न सकिन्छ। सरकार सिंहदरबारमा मात्र सीमित छैन–गाउँ, टोल र छिमेकमा पनि छ।”
मन्त्री खरेलले मन्दिर दर्शनपछि वडा ११ कार्यालयमा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग सरकारी सेवा सुधार, सडक–गल्ली व्यवस्थापन र सञ्चार सेवा प्रभावकारी बनाउने सुझाव लिएका छन्।
वडा कार्यवाहक अध्यक्ष जुवन तण्डुकार र सदस्य सचिना परियारले मन्त्रीको यो पहललाई प्रशंसनीय ठहर गरेका छन्। मन्त्री खरेलले जनताको आवाज सुन्ने र त्यसलाई नीतिमा रूपान्तरण गर्ने काम नागरिक सरकारको मुख्य दायित्व रहेको बताए।