आय–व्यय विवरण नबुझाएका ६ दल निर्वाचन दर्ता निवेदनका लागि आयोगमा
१८ मंसिर, काठमाडौं – आय–व्यय विवरण नबुझाएका कारण जरिवाना तिरेका छैनन् भनिएका ६ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन्।
अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले आयोगमा दल दर्ताको निवेदन पेश गरेका हुन्।
यी दलहरूले आर्थिक वर्ष २०७८/७९ वा २०७९/८० को आय–व्यय विवरण बुझाएका छैनन्। आयोगले अघिल्लो वर्ष नबुझाएका दलहरूलाई जरिवाना तोकेको थियो। तर, जरिवाना नबुझाएका दलहरूले २१ फागुनका लागि तोकिएको निर्वाचन दर्ताको निवेदन पेश गरेपछि आयोग के गर्ने भन्ने विषयमा छलफलमा छ।
हाल आयोगले गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाउने समय माघसम्म कायम राखेको छ। आयोगले जरिवाना नबुझाएका दलहरूका निवेदन कसरी अघि बढाउने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको छ।