कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिम साता गर्ने दिशामा सहमति
काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवाद टुंगिने दिशामा पुगेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीले पुस अन्तिम साता महाधिवेशन गर्ने मध्यमार्गी प्रस्तावमा सहमति जुटाएको हो।
केन्द्रीय कार्यसमिति बैठकमा पुस २५, २६ वा २७ गतेदेखि महाधिवेशन सुरु गर्ने कार्यतालिका पेस गर्ने तयारीमा नेताहरू जुटेका छन्। यो तयारी अन्तर्गत पुस १० गते आसपास वडा अधिवेशन सुरु गरी ढिलोमा पुस २७ गते केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने योजना बनाइएको छ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, लामो समयको विवाद मिलाएर पुस अन्तिम साता महाधिवेशन गर्ने कार्यतालिका आजको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिनेछ। यसले गत असोज २९ गते दुई हजार ४८८ प्रतिनिधिले मागेको विशेष महाधिवेशनको प्रस्तावलाई व्यवहारिक रूपमा सम्बोधन गर्ने उद्देश्य राखेको छ।
महाधिवेशन निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विवाद पार्टीभित्रको संस्थापन र महामन्त्री समूहबीच रहँदै आएको थियो। विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर फिर्ता नलिने चेतावनी दिएका छन् भने संस्थापन पक्षले सहमति र राजनीतिक विवेकको आधारमा महाधिवेशन अगाडि बढाउनुपर्ने बताउँदै आएको छ।
पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने निर्वाचनअघि महाधिवेशन नगरी निर्वाचनपछि मात्र गर्ने पक्षमा रहेको बताउँछन्। तथापि, पार्टीभित्रको व्यापक सहमतिका कारण पुसभित्रै महाधिवेशनको कार्यतालिका टुंग्याउने तयारी भइरहेको छ।