पोखरेलसहित नेताहरू ओलीसँग भेट, प्रतिनिधि विवाद सुल्झाउने सुझाव
काठमाडौँ – वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। भेटमा नेताहरूले प्रतिनिधि छनोटको विवाद टुङ्ग्याएर महाधिवेशनतर्फ अघि बढ्न सुझाव दिएका छन्।
स्रोतका अनुसार, पोखरेलसहित नेताहरूले करिब डेढ घण्टा छलफल गरेका थिए। ‘महाधिवेशन नजिकिएकाले विवाद रहेका जिल्लाहरूमा टुङ्ग्याएर अगाडि बढ्नुपर्छ। यसले पार्टीमाथि सन्देश राम्रो जान्छ,’ पोखरेलसहित गुण्डु पुगेका नेताले भने।
भेटमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई पनि उपस्थित थिए। नेताहरूले भेटमा अन्य विषयमा छलफल नगरी प्रतिनिधि विवादमै ध्यान केन्द्रित गरेका थिए।
सूत्रका अनुसार, ओलीले पोखरेललाई एघारौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व दिन सुझाव दिएका थिए भने पोखरेलले पनि नेतृत्व सुम्पिएर अघि बढ्ने आफ्नो तयारी व्यक्त गरेका थिए। तर, आफू अगाडि बढिसकेकाले पछि नहट्ने अडान उनले ओलीसामु राखेको स्रोतले जनाएको छ।