श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङद्वारा नयाँ राजनीतिक शक्तिको उदयको दाबी
खाँदबारी, — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गरेका छन्। शनिबार यहाँ खाँदबारीमा आयोजित संगठन विस्तार तथा जागरण सभामा अध्यक्ष साम्पाङले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताए।
अध्यक्ष साम्पाङले आफ्नो पार्टी त्यही विकल्पका रूपमा अघि बढिरहेको बताउँदै जनसमर्थनसहित उल्लेख्य सफलता हासिल गर्ने जिकिर गरे। उनले पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीको पक्षमा रहेको र भ्रष्टाचारविरुद्ध कठोर नीति लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
साम्पाङले भने, “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिइने छैन। हाम्रो सरकार सुशासन, पारदर्शिता र मितव्ययितामा आधारित हुनेछ। उत्पादन र निर्माणलाई प्राथमिकतामा राखेर देशलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य हामीले लिएका छौँ।”
उनले गाउँ–गाउँमा संगठन बलियो बनाउँदै सामाजिक र आर्थिक रूपान्तरणमा पार्टी सक्रिय रहने र रोजगार सिर्जना तथा उत्पादन वृद्धिमा जोड दिने योजना सार्वजनिक गरे।