रास्वपा नेता श्रेष्ठद्वारा ‘तेस्रो राजनीतिक ध्रुव’ घोषणा
काठमाडौँ, १४ मंसिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विराजभक्त श्रेष्ठले नेपालमा तेस्रो राजनीतिक शक्तिको उदय भएको घोषणा गरेका छन्। आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एकता सभामा बोल्दै श्रेष्ठले दुई पार्टी बिचको मात्र एकता नभई वैकल्पिक राजनीतिको अर्को अध्याय सुरु भएको बताए।
उनले भने, “सुसंस्कृत राजनीतिको तेस्रो ध्रुव जन्मिएको घोषणा गर्न चाहन्छु। देश जहिले पनि दुई ध्रुवमा बाँडिने गर्थ्यो, तर आज तेस्रो ध्रुवले सुसंस्कृत तरिकाले राजनीति अघि बढाउन सक्छ।”
श्रेष्ठले यस ध्रुवले देशको राजनीतिमा सन्तुलन ल्याउने, सामाजिक र सांस्कृतिक अन्तर्विरोध सम्बोधन गर्ने र युवाहरूको नेतृत्वमा देशलाई अगाडि बढाउने लक्ष्य राखेको बताए। उनले दिवंगत नेता उज्ज्वल थापाको मार्गदर्शनबाट रास्वपा अगाडि बढेको पनि उल्लेख गरे।